छलकपट बिनाको सन्त - सङ्गीतकार भूपेन्द्र रायमाझी
नेपाली गीत सङ्गीत क्षेत्रमा दरिलो उपस्थिति अभिलेख गरिसकेको, आफ्नो एउटा छुट्टै पहिचान निर्माण गरिसकेको तथा नेपाली गीत सङ्गीतको इतिहासमा अब छुटाउनै नमिल्ने नाम बनिसकेको एउटा स्थापित नाम हो भूपेन्द्र रायमाझी ।
भूपेन्द्र रायमाझीको व्यक्तित्वको मूल पाटो सङ्गीतकार हो, सङ्गीत संयोजक र वाद्यवादक मूल पाटो जस्तै समानान्तर विधा हो भने गीतकार र गायक व्यक्तित्व उहाँको अर्को पाटो हो । भूपेन्द्र रायमाझीको सङ्गीतकारको रुपमा पहिलो गीत वि.स. २०४२ सालमा मखमली आवाजका धनी भनि प्रख्याती कमाउनुभएका सुप्रसिद्ध गायक प्रेमध्वज प्रधानको आवाजमा रिकर्ड भएको हो भने ठूलो पर्दाको चलचित्र तर्फ सङ्गीत प्रदान गरेको पहिलो चलचित्र ‘चोट’ हो । यसै पहिलो चलचत्रिमा नै उहाँले स्वर सम्राट नारायण गोपालको आवजमा ‘विरही माया अधुरो रह्यो’ बोलको गीत रिकर्ड गराउने अवसर प्राप्त गर्नुभयो । डा. दीर्घसिंह बमको रचनाको यस गीतले लोकप्रियताको शिखर चुम्न सफल भयो । यस गीतलाई स्वर सम्राट नारायण गोपालको रिकर्ड भएको अन्तिम गीत पनि भनिन्छ ।
भूपेन्द्र रायमाझीले चलचत्रि ‘मनोकामना’मा शैलेस आचार्यको रचनाको ‘फूल टिपेर मायाको सजाउँदैछु मायालुलाई’ बोलको गीत सुप्रसिद्ध गायक बच्चु कैलाशको आवाजमा रिकर्ड गराउने अर्को अवसर पनि प्राप्त गर्नुभयो र यस गीतले पनि प्रसिद्धीको शिखर चुम्यो । सुप्रसिद्ध गायक बच्चु कैलाशको आवाजमा चलचित्र ‘मनको बाँध’ पछि यही गीत रिकर्ड भएको र यस पश्चात पनि बच्चु कैलाशबाट हालसम्म चलचित्रको लागि अर्को कुनै गीतमा स्वर प्रदान भएको पाइँदैन । त्यसैले नारायण गोपाल र बच्चु कैलाशबाट स्वर प्रदान भएका उहाँका सङ्गीतका गीतहरू नेपाली सङ्गीत इतिहासमा छुटाउनै नमिल्ने घटना हुन पुगेका छन् । नारायण गोपाल र बच्चु कैलाश जस्ता दिग्गज तथा शिखरमा रहेका कलाकारहरूबाट उहाँको सङ्गीतलाई विश्वास गरिनु उहाँको सङ्गीतको स्तरियताको दरिलो प्रमाण पनि हो ।
चलचित्र ‘अर्पण’को लागि वि.सं २०४९ सालमा रिकर्ड भएको प्रमोद ढुङ्गानाको रचना तथा भारतीय चलचित्रका सुप्रसिद्ध गायक कुमार सानुको आवाज रहेको ‘फूल भए जिन्दगी देउतालाई चढ़ाइदिन्थें’ भूपेन्द्र रायमाझीको चलचित्र सङ्गीतको अर्को उल्लेख गर्नैपर्ने कालजयी गीत हो ।
चलचित्रहरू चोट, अरुणिमा, महादेवी, मनकामना, गोपीकृष्ण, तपस्या, अर्पण, नाता, सौता, टुहुरो, दुष्मन, सोल्टिनी, हेल्लो प्रकृती, स्कूल जस्ता करीब एक दर्जन चलचित्रको लागि श्रृजना गरिएका सङ्गीतका गीतहरूले भूपेन्द्र रायमाझीलाई चलचित्र सङ्गीतमा बेग्लै पहिचान र अग्लोस्थान प्रदान गर्यो । ‘क बाट कछुवा ख खरायो’, ‘आँखा आँखा बोली रहे’, ‘सागरको नीलो गहिराईमा एउटा धून बज्दछ’, ‘कहाँ छौ कहाँ’, ‘आज साह्रै राम्रो देख्छु किन होला नि’, ‘यो केटीको ठीक छैन चाला’, ‘प्यारो प्यारो सपना मेरो’ लगायतका दर्जनौं सुन्दर एवं चर्चित गीतहरूले संख्यात्मकरुपमा कम चलचित्रमा सङ्गीत प्रदान गरेर पनि चलचित्र सङ्गीतको रुपमा अत्यन्त सफल नामको रुपमा स्थापित गर्यो ।
राष्ट्रिय गीत, चलचित्रका गीत, आधुनिक गीत, अत्याधुनिक वा पप शैलीका गीत, आध्यात्मीक गीत, विभिन्न साँस्कृतिक चाड़पर्वका गीत, राष्ट्रिय पर्व र अभियानका गीत, सामाजिक सचेतना जागृत गर्ने जागरण गीत जस्ता विविध भाव र विषयका गीतमा समानान्तर रुपमा सङ्गीत श्रृजना गर्ने संभवत उहाँ नेपाली सङ्गीत क्षेत्रको एकमात्र सङ्गीतकार हुनुहुन्छ । प्रसिद्ध गायिका लोचन भट्टराईको आवाजमा रहेको ‘टाढ़ा टाढ़ा नभई जाउ तिमी’, गायक हरिश माथेमाको आवाज रहेको ‘आभाष आउँछ तिम्रो कताकता’ र ‘आँखाको नानी हौ तिमी जीवनमा आइदेउ’ जस्ता चर्चित गीतहरूले भूपेन्द्र रायमाझीको गीतकार प्रतिभाको पनि राम्रो परिचय दिन्छ ।
करिब पन्ध्र सय गीतहरूमा सङ्गीतश्रृजना, करिब चार हजार गीतहरूमा सङ्गीत संयोजन, हजारौं गीतहरूमा वाद्यवादन गर्नुभएका भूपेन्द्र रायमाझीले कैयौं गीतकार तथा गायक गायिकालाई स्थापित गराउन तथा कैयौं सङ्गीतकारहरूलाई यस क्षेत्रमा अघाडि बढ़ाउन तथा पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।
झण्डै चार दशक सङ्गीत कर्ममैं निरन्तर रहेर यति धेरै साङ्गेतीक योगदान दिइसकेर पनि हात उहाँ नयाँ पुस्ताको लागि सङ्गीत श्रृजना र सङ्गीत संयोजन सहितको सयौं गीत तयार गर्नमा व्यस्त हुनुहुन्छ ।
अहोरात्र सङ्गीतमैं लागिरहने, सङ्गीत श्रृजनामैं व्यस्त भइरहने, मस्त भइरहने, सङ्गीतकै विषयमा सोच्ने, सङ्गीतकै विषयमा चर्चा गर्ने, सङ्गीत कर्म गरेर नगल्ने, नथाक्ने सङ्गीतको एउटा जिद्धीश्रष्टा पनि हुन् भूपेन्द्र रायमाझी ।
गोरखा दक्षिणबाहु, छिन्नलता गीत पुरस्कार, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार लगायत थुप्रै पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित भूपेन्द्र रायमाझी आफ्ना गुरु सङ्गीतकार, सङ्गीत संयोजन एवं वाद्यवादक शुभ बहादुर सुनाम जस्तै कम बोल्ने, एक–दुई पटकको भेटमा अलिकती अन्र्तमुखी स्वभाव हो कि जस्तो देखीने, विस्तारै खुल्ने तर स्वभावले अत्यन्त शान्त, मिलनसार र सहयोगी भाव भएको, छलकपट बिनाको सन्त जस्तै श्रष्टा पनि हुन् भूपेन्द्र रायमाझी ।
यस्तै श्रृजनशिलता र यस्तै निरन्तरताको हार्दिक शुभकामना ।