नारायण गोपालको अन्तिम गीतमा सङ्गीत दिने वरिष्ठ सङ्गीतकार भूपेन्द्र रायमाझीको यात्रा जीवनको
उनी पढाईमा त्यति कमजोर थिएनन् । तर पनि टेबुल ठोकेर गीत गुनगुनाउने बानीले कक्षा कोठामा पछाडीको बेञ्चमा बस्न रुचाउँथे उनी । गुरु कक्षाबाट बाहिरिन साथ उनलाई साथीहरूको फर्माइस शुरु हुन्थ्यो । उनी बेञ्चलाई तबला बनाएर ठोक्न थाल्थे । त्यसबेला चलेका नेपाली र हिन्दीहरू धेरै कण्ठस्थ थिए । साथीहरूको फर्माइस पूरा गर्न उनी हौसिंदै गीत गाउन थाल्दथे । आफ्ना पितालाई छोराको टेबुल ठोक्ने बानी कसैले सुनाइदिएछन् । छोराले टेबुल ठोकेर गीत गाउँदा गाउँदा औंलाहरू सुन्निएको देखे । उनका पिता विराटनगरका चर्चित वकिल थिए । काठमाडौँ आउने क्रममा पिताले एउटा मादल किनेर छोरालाई उपहार दिए । त्यसपछिका दिनमा टेबुलको सट्टा मादल ठोक्न थाले । आखिर त्यही मादलका तालहरूबाट शुरु भएको उनको सांगीतिक यात्रा विराटनगरको टाइरोज बेण्डमा रुपान्तरण भयो । त्यहाँबाट उठान भएको मेहनत र सङ्घर्षको यात्राले उनलाई रेडियो नेपालको सङ्गीतकार, एरेञ्जर बनायो, चलचित्र क्षेत्रको सङ्गीत निर्देशक बनायो । लाखौँ श्रोता तथा दर्शकको मनमा पुर्यायो ।
वरिष्ठ सङ्गीतकार, सङ्गीत एरेञ्जरको भूपेन्द्र रायमाझीको जन्म २०१६ साल पौष २९ गते मोरङ जिल्लाको विराटनगरमा भएको हो । देवी बहादुर सिंह रायमाझी र सकुन्तला रायमाझीका पाँच सन्तान मध्येका एक हुन् उनी । उनले २०३३ सालमा विराटनगरबाटै एस.एल.सी. उत्तिर्ण गरे । सङ्गीतमा स्नातक सम्मको अध्ययन पनि पूरा गरे । २०३९ सालमा रेडियो नेपालमा रत्न रेकर्डिङ संस्थानले प्रतिभाको डबली नामक कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा भूपेन्द्रले विशेष सङ्गीतकारका रूपमा पुरस्कार प्राप्त गरे । त्यसबेला निर्णायकका रूपमा रहेका सङ्गीतकार नातिकाजी, शिव शङ्कर, तारा देवी, गोपाल योञ्जनको आँखामा परे । मनमा गढे । उनले रेडियो नेपालमा पहिलो पटक १२ स्ट्रिङ गितार बजाएर ती हस्तीहरूको मन जितेका थिए । उनका सङ्गीतहरू पनि निकै मन पराइए त्यहाँ । उनको साङ्गीतिक क्रियाशीलता बढ्दै जाँदा उनले रेडियो नेपालका रेकर्डिङहरूमा गितार बाहेक मेन्डोलिन, बेञ्जोलिन, सन्तुर, कङ्गो, थुम्बा, किबोर्ड, हार्मोनियम, माउथ अर्गन जस्ता विभिन्न वाद्ययन्त्रहरू समेत बजाए । ५० को दशकमा चलचित्र हुरीमा सङ्गीत दिएपछि चलचित्र चोटमा सङ्गीत निर्देशन गर्ने अवसर पाए । त्यसको साङ्गीतिक सफलताले अन्य झन्डै २ दर्जन चलचित्रमा सङ्गीत गर्ने अवसर जुरायो । चलचित्र चोट, गोपीकृष्ण, महादेवी, दुश्मन, सोल्टिनी, तपस्या, अर्पण, मनकामना, हेलो प्रकृति, स्कुल आदिमा उनका सङ्गीत रहेका छन् । नेपाली सङ्गीतका वाद्य हस्ती सङ्गीतकार शुभ बहादुर सुनामलाई गुरु थापेका उनले रेडियो नेपालमा रेकर्ड भएका सयौँ गीतहरूमा सङ्गीत संयोजन गरेका छन् ।
वि.सं. २०३९ सालमा रेडियो नेपालमा भूपेन्द्रले पहिलो पटक वाद्यवादन गरेको गीत तारा देवीको स्वरमा थियो -'आँशु झर्दा पनि रूवाई भन्ने थाहा थिएन' । उनको सङ्गीतमा २०४२ सालमा रेडियो नेपालमा पहिलो पटक रेकर्ड भएको गीत भने प्रेमध्वज प्रधानको स्वरमा थियो - चोखो प्रेमलाई । 'विरही माया अधुरो रह्यो बिर्सनु कसरी' भूपेन्द्रको सङ्गीतमा स्वर सम्राट नारायण गोपालले गाएको चलचित्र चोटको गीत नै नारायण गोपालको अन्तिम गीत रहन पुग्यो । उनको सङ्गीतमा वलिवुडका चर्चित गायन हस्तीहरू उदित नारायण झा, आशा भोशले, अनुराधा पोडवाल, कविताकृष्ण मुर्ति, साधना सरगम, कुमार सानु, पुर्णिमा लगायतका कलाकारहरूले गाएका छन् । भूपेन्द्र प्रशासकीय रूपमा रेडियो नेपालको सङ्गीत महाशाखा प्रमुखका रूपमा डेड दशक सेवा गरे भने एक कार्यकाल सञ्चालक समिति सदस्य समेत रहे ।
२०४२ सालमा वैवाहिक जीवनमा बाँधिएका भूपेन्द्रका एक छोरा एक छोरी छन् । उनका छोरा समेत विवाह बन्धनमा बाँधी सकेका छन् ।